पञ्चेश्वरमा फोन गर्न रुख चढ्नुपर्छ, सरकार भन्छ अनलाइन कक्षा–अध्यक्ष चन्द

 


कञ्चनपुर – पञ्चेश्वर गाउँपालिका बैतडीको दुर्गम क्षेत्र हो। तल्लो स्वराडका रुपमा चिनिने यो क्षेत्रमा अहिले पनि सञ्चार सुविधा राम्रो संग पुग्न सकेको छैन। पालिकाका सबै वडामा विद्युत सेवा पनि पुगेको छैन। पछिल्लो समय कोभिड–१९ का कारण लामो समयदेखि विद्यालयहरु बन्द हुँदा सरकारले अनलाईन कक्षादेखि रेडियो टेलिभिजन लगायतका माध्यमबाट वैकल्पिक माध्यमबाट शिक्षणका कुराहरु अघि सारेको छ। तर, पञ्चेश्वर जस्ता विद्युत र सञ्चार सुविधा नपुगेका पालिकाहरुमा वैकल्पिक शिक्षण प्रभावकारी नहुने देखिन्छ।

‘फोन गर्न रुखमा चढ्नुपर्छ, तर संघीय सरकार वैकल्पिक शिक्षणका कुरा गर्छ,’ पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले भने, ‘काठमाडौंलाई हेरेर मात्रै अनलाइन शिक्षाका कुरा गरिन्छ, पञ्चेश्वर जस्ता दुर्गम र पहाडी क्षेत्रमा त्यो सम्भव छैन।’ पञ्चेश्वरमा अहिले पनि सबै क्षेत्रमा फोन लाग्दैन। फोन गर्न रुखमा वा अग्लो ठाउँमा जानुपर्ने बाध्यता छ। रेडियो र टेलिभिजनको पहँुच पनि सबै क्षेत्रमा छैन।

पञ्चेश्वर गाउँपालिकाले छिट्टै विद्यालय सञ्चालनको तयारी गरेको छ। लामो समयदेखि पालिकामा कोरोना संक्रमित नदेखिएपछि विद्यालयहरु डिसइन्फेक्सन गरेर सञ्चालन गरिने अध्यक्ष चन्दले बताए। समाजिक दुरी कायम गर्नुका साथै मास्क र सेनेटाइजरको व्यवस्था गरेर दशैं अगाडी नै विद्यालय सञ्चालन गर्ने तयारी भएको उनले बताए।

‘जिल्ला बाहिर रहेका शिक्षकहरुलाई पनि पिसिआर गरेर मात्रै पालिकामा भित्र्याइनेछ,’ अध्यक्ष चन्दले भने, ‘बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने जोकोहीको पनि पिसिआर परीक्षण गरिनेछ।’ उनका अनुसार जेठयता पालिकामा संक्रमण नदेखिएकाले अहिलेको अवस्थामा विद्यालय सञ्चालन गर्न सुरक्षित रहेको छ। स्वास्थ्य सुरक्षाका उचित मापदण्डहरु अपनाएर पठनपाठन सुरु गरिने उनले बताए।

लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठन अवरुद्ध छ। अर्काेतिर वालवालिकाहरुमा पनि विभिन्न किसिमका नकारात्मक असरहरु पर्न थालेका छन्। एउटा शैक्षिक वर्ष नै खेर जाने अवस्था आउन लागेकाले यसतर्फ विषेश ध्यान दिनुपरेको अध्यक्ष चन्दले बताए।

पञ्चेश्वर गाउँपालिकामा ३५ वटा विद्यालयहरु छन्। शैक्षिक क्यालेन्डर बनाएर पठन पाठन सुरु गर्ने तयारी भईरहेको अध्यक्ष चन्दले बताए। उनले यसैसाता सबै विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरिने बताए। कार्यपालिकाको वैठक बसेर छिट्टै निर्णय गरिने उनको भनाई छ।


Comments

Popular posts from this blog

पञ्चेश्वरमा फोन गर्न रुख चढ्नुपर्छ, सरकार भन्छ अनलाइन कक्षा–अध्यक्ष चन्द

स्तरोन्नतीमा चुकेको नगरपालिका

कक्षा १२ को परीक्षाको पर्खाइमा रहेका विद्यार्थीका आयो निकै खुसीको खबर, अन्ततः यसरी हुने भयो परीक्षा !